काठमाण्डू, ९ साउन– कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । केहीबेरअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
लामा बागमती प्रदेशको मुख्यमन्त्री समेत हुन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आ.व ०८२–८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको एक सांसदले दाबी गरे । कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ ।
लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । बागमतीको मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसभित्र अन्तरसंघर्ष चलिरहेको छ । बहादुर सिंह लामाको बहिर्गमन पश्चात मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँ अगाडि सरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व परिवर्तन हुने स्पष्ट निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेको सांसदहरू बताउँछन् ।
देउवाले गत बुधवार मुख्यमन्त्री लामालाई बोलाएर छलफल गरेको थिए । उनले राजीनामा दिएर बानियाँलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको देउवासँग भेट गरेका एक मन्त्रीले जानकारी दिए ।
लामा मुख्यमन्त्री नछोड्ने अडानमा छन् । नेतृत्व हस्तान्तरण गर्न नसकिने धारणापछि बानियाँ पक्ष अविश्वासको प्रस्ताव लैजाने मनस्थितिमा पुगेको जनाइएको छ ।