काठमाण्डु, २८ भदौ– साढे तीन वर्षअघि काठमाण्डुमा भारतीय व्यवसायी र शोरुमका कर्मचारीको हत्यामा संलग्न दुई अभियुक्त भारतको मुम्बइबाट समातिएका छन् ।
१० चैत २०६७ मा एक्साइड ब्याट्रीको टेकुस्थित शोरुमका कर्मचारी प्रेमकृष्ण महर्जन र २७ चैतमा भारतीय व्यवसायी अञ्जनीकुमार चाचानको गणबहालस्थित पसलमै गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्त पक्राउ परेका हुन् ।
गोलीकाण्डपछि भारतमा लुक्दै आएका नीरज केसी र सुनील महर्जन पक्राउ परेका हुन् । अपराध महाशाखाका अनुसार महर्जनलाई दुई साताअघि नै काठमाण्डुबाट पक्राउ गरिएको थियो भने भारतीय प्रहरीको सहयोगमा केसी बिहीबार मुम्बईबाट पक्राउ परेका हुन् ।
‘दुई हत्यामध्ये प्रेमकृष्ण महर्जनलाई व्यक्तिगत रिसइबीमा गोली हानेको देखिन्छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले भने, ‘चाचानलाई भने पैसा लुट्ने उद्देश्यले उनीहरले गोली हानेका थिए ।’ यो समूहका दुईजना राजु डंगोल र अशोक गोले दुई वर्षअघि नै पक्राउ परिसकेका छन् । उनीहरु हाल जेलमा छन् ।