
काठमाण्डु, २८ भदौ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनपरि गरेर मन्त्री फेरबदल गरेको आरोप लगाएका छन् ।
नेता नेपालले पार्टीमा छलफल नै नगरी मन्त्री फेरबदल गरिएको भन्दै असन्तुष्टि जनाए । ‘पार्टीमा छलफल भएको छैन, कुनै सल्लाह भएको छैन’ नेता नेपालले भने, ‘हाम्रो पार्टी मनपरि ढंगले चलिरहेको छ । ‘एकल सो’ गर्ने काम भइरहेको छ । यो ठीक होइन ।’ उता, एमाले पूर्वअध्यक्ष झलनाथ खनालले भने पालो पुर्याउन मन्त्रीहरु हेरफेर गरिएको प्रतिक्रिया दिएका छन् ।
उनले केही मन्त्री हेरेफेर गरेर नयाँलाई पालो दिएको उल्लेख गर्दै अन्य मन्त्रीलाई पनि हटाएर नयाँलाई गरिने बताए ।‘ आलोपालो गर्न मन्त्रीलाई फिर्ता बोलाइएको हो,’ खनालले भने,‘ अरुको पनि पालो आउँछ ।’
उनले हेरफेरमा वरिष्ठ नेता माधव नेपालको असन्तुष्टिबारे सोध्दा अनभिज्ञता प्रकट गरे । ‘यो काम पार्टी अध्यक्षको हो,उहाँले अरुसँग पनि सल्लाह गरेको होलाजस्तो मलाई लाग्छ,’ खनालले भने ।
अन्नपूर्ण पोष्टबाट