काठमाण्डु, २७ भदौ – नेपाली काँग्रेस नेता खुमबहादुर खड्काले धर्म निरपेक्षतासहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले धर्म निरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै पेलेर बहुमतको आधारमा धर्म निरपेक्षता सहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका हुन । अब बस्ने नेपाली काँग्रेसका केन्द्रीय समितिको बैठकमा आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघीयता बिनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने पनि उनले जानकारी दिएका छन् ।
साक्षात्कारमा उनले ८१ दशमलब ५ प्रतिसत जनता हिन्दु भएको मुलुकमा काँग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको तर्क गर्दै धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र हुनु पर्ने माग गरे ।
खड्काले अहिले पेलेर धर्म निरपेक्षता घोषणा गरिए पनि आगामी दश–बाह्र वर्षभित्र मुलुक भयंकर धार्मिक द्धन्दमा फस्ने चेतावनी दिए । उनले काग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर
बोल्न नसकेको दावी गर्दै नेपाली काग्रेसको केन्द्रीय समितिमा पनि हिन्दु राष्ट्रको पक्षमा बहुमत पुग्ने ठोकुवा गरे । खड्काले आफू संघीयताको पक्षपाती नभएको स्पष्ट पार्दै संघीयताले मुलुकको हित नगर्ने बताए ।
उनले संघीयतामा जानै पर्ने भए पनि अहिलेको पाच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर उत्तर–दक्षिण संघीयतामा भौगोलिक आधारमै जानु पर्ने भन्दै जातीय आधारको संघीयतामा गए मुलुक विभाजित हुने दावी गरे ।
आफ्नै पार्टी सभापतिको नेतृत्वको सरकारले अहिलेसम्म कुनै गतिलो काम गर्न नसकेको टिप्पणी गर्दै यहि गतिमा अघि बढीरहे काग्रेसको अस्तित्व नै समाप्त हुने ठोकुवा गरे ।
उनले भने– यो सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल ल्याउनु बाहेक कुनै काम गर्न सकेको छैन । सरकारमा एमाले हावी छ । यस्तै तालले देश बामपन्थीको कब्जामा जान्छ र अर्को चुनावमा एमालेले बहुमत सहित सरकार बनाउँछन । यद्यपि उनले एमाओवादी भने अझै समाप्त भएर जाने दावी गरे । उनले भने–प्रचण्ड नाङगिसकेका छन ।
खड्काले आगामि असोज ४ गतेबाट केन्द्रीय समितिको म्याद सकिने भएकोले तत्काल महाधिवेशन गर्नु पर्ने पक्षमा आफू रहेको समेत साक्षात्कारमा स्पष्ट पारे ।
एमाओवादी संविधान बनाउने पक्षमै नरहेको भन्दै राजनीतिक संबाद समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान बन्न नदिन दवाव आयो भनि दिएको अभिब्यक्तिबारे को र कहाँबाट दवाव आएको हो स्पष्ट पार्नु पर्ने माग गरे ।