
काठमाण्डु, २६ भदौ– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी मुलुकका डिभी र पीआरबाहक सरकारी कर्मचारीलाई कारबाही गर्नेसम्बन्धी विधेयक पारित गर्न राष्ट्रपति रामवरण यादवलाई गुहारेका छन् ।
मन्त्री पण्डितले बिहीबार राष्ट्रपतिलाई शीतल निवासमा भेटेर संसदमा विचाराधीन विधेयक पारित गराउन सरकार तथा दलहरुको ध्यानाकर्षण गराउन आग्रह गरेका हुन् ।
स्रोतका अुनसार मन्त्री यादवले सत्ता पक्षका सभासदहरु नै विधेयक पारित हुन नदिन सक्रिय रहेको भन्दै राष्ट्रपतिसँग सहयोगका लागि आग्रह गरेका छन् ।
काठमाण्डु टुडेसँग कुरा गर्दै मन्त्री पण्डितले आफूले विधेयकका प्रावधानबारे राष्ट्रपतिलाई विस्तृत जानकारी गराएको बताए । ‘मैले विधेयकका पक्षमा राष्ट्रपतिलाई ‘कन्भिन्स’ गर्न कोसिस गरें’, पण्डितले भने, ‘राष्ट्रपतिले आफ्नो सकारात्मक सहयोग हुने बचन दिनुभएको छ ।’
उनका अनुसार राष्ट्रपतिले विधेयक मुलुकको हितमा रहेकाले खुट्टा नकमाउन आग्रह गरेको पण्डितले बताए ।