मुगु, २६ भदौ– मुगुको ह्यागुल गाविस–९ की एक युवतीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको खबर सुनेर एक शिक्षकलाई हृदयघात भएको छ ।
२८ वर्षीया बाटु रावलको घाँस काट्ने रुखबाट लडेर मृत्यु भएको खबरले स्थानीय शिक्षक भीष्मबहादुर कार्कीलाई हृदयघात भएको थियो ।
उनको नेपालगञ्जमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । कार्की स्थानीय महादेव उच्चमाविका अंग्रेजी विषयका शिक्षक हुन् । विद्यालयमा अन्य शिक्षकहरुसँग बसिरहेका बेला छिमेकीको मृत्यु भएको खबर सुनेर कार्की एक्कासि बेहोस भएका थिए ।
आफन्तले उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याएका थिए । तर हेलिकोप्टर आउन ढिलाइ भएका कारण समयमै उपचार नपाउँदा कार्कीको ज्यान गएको आफन्तले बताएका छन् ।