वैद्यको पछि लाग्ने हो भने संविधान बन्दैन : थापा

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई माघ ८ गतेभित्रै संविधान दिन प्रक्रियामा जानुको विकल्प नरहेको Kamalthapaबताएका छन् ।
रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा अध्यक्ष थापाले सहमतिका नाममा कार्यतालिका परिमार्जन गरिए पूर्वनिर्धारित समयमा संविधान नआउने ठोकुवा गरे । दलहरुबीच बन्द्य कोठामा हुने छलफल रोकेर प्रक्रियामार्फत विवादित विषको टुंगो लगाउनुपर्ने उनको भनाइ थियो ।

‘संविधानका जति पनि विवादित विषय छन् त्यसमा सहमति खोज्दा खेरि माघ ८ गते नयाँ संविधान आउँदैन’, थापाले भने, ‘अब दलहरुले सहमतिका नाममा बन्द कोठामा गर्ने बैठकहरु बन्द गरेर संविधानसभाबाटै संविधान जारी गर्न विधि र प्रक्रिया अवलम्बन गर्नुपर्छ ।’ उनले सहमतिका नाममा गर्ने भनिएको राष्ट्रिय राजनीतिक सम्मेलन निरर्थक अभ्यास हुने बताए ।

मोहन वैद्य नेतृत्वको मोर्चाले भनेजस्तो सम्मेलन गर्दै जाने हो भने कहिल्यै संविधान जारी नहुने दाबी गरे । ‘मोहन वैद्यले नेतृत्व गरेको मोर्चाले भनेजस्तो सम्मेलन गर्दै जाने हो भने कहिल्यै पनि सहमति हुँदैन’, थापाले भने, ‘यो समय खर्चने र संविधान बन्न नदिने षड्यन्त्र मात्र हो ।’ उनले राष्ट्रिय राजनीतिक सभाका नाममा काँग्रेस–एमाले नराम्ररी फसेको टिप्पणी गरे ।

राष्ट्रिय राजनीतिक सम्मेलन केवल प्रवचन गोष्ठी मात्रै हुने उनको जिकिर छ । उनले चार दलका नेताले बालुवाटारमा बैठक बसेर प्रवचनका रुपमा राष्ट्रिय सम्मेलन गराएर कार्यतालिका परिवर्तन गर्ने षड्यन्त्र गर्न लागेको आरोप लगाए ।
थापाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा आफूहरुले विमति राख्दै आएको भए पनि ठूला पार्टीहरुलेसुनुवाई नगरेको भन्दै आक्रोश पोखेका छन् ।

राप्रपा नेपालको एजेण्डामा प्रमुख दल सहमत नभए उनीहरुका एजेण्डामा पनि आफूहरु सहमत हुन नसक्ने जिकिर गरे ।  काँग्रेस–एमालेको गणितीय दम्भ र एकीकृत माओवादीमा निर्वाचनमा बेहोरेको पराजयबाट पैदा भएको असुरक्षाको भावनाले मुलुकलाई संकटमा धकेलेको दाबी गरे ।
गणेश थापा सबैभन्दा योग्य
पत्रकारहरुको जिज्ञासामा थापाले आफ्ना भाई गणेश थापा पार्टीभित्र सबैभन्दा योग्य भएकै कारण संविधानसभा सदस्यमा मनोनित गरेको जिकिर गरे । ‘पार्टीमा सबैभन्दा योग्य र योगदान गरेको व्यक्ति खोज्दै जाँदा गणेश थापा पाएँ’, उनले भने, ‘त्यही भएर सभासद बनाएको हो । यो कुनै दाजुभाई भएर बनाएको होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us