काठमाण्डु, २६ भदौ– क्षेत्री समाज नेपालले हालको पाँच विकास क्षेत्रलाई नै आधार मानेर संघीयता निर्धारण गर्न माग गरेको छ ।
समाजले बिहीकार प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय अखण्डता र जातीय सद्भाव कायम राख्न अहिलेकै पाँच विकास क्षेत्रलाई आधार मानेर संघीयता निर्धारण गर्न आग्रह गरेको हो ।
समाजले काठमाण्डुका प्रमुख लिल्ला अधिकारी वसन्तराज गौतममार्फत प्रधानमन्त्रीलाई बुझाएको १६ बुँदे ज्ञापनपत्रमा संविधानसभाबाट जसरी पनि संविधान जारी गरिनुपर्ने, समाज र सरकारबीच यसअघि भएको ६ बुँदे सहमति कार्यान्वय गरिनुपर्ने, क्षेत्री समुदायलाई आदिवासीमा सूचिकृत गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
क्षेत्री समाज काठमाण्डुका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार ज्ञापनपत्रमा सबैभन्दा धेरै जनसंख्या रहेका क्षेत्रीहरुलाई आदिवासीमा सूचिकृत नगरिएकाले क्षेत्रीहरुको अस्तित्व संरक्षणका लागि जस्तोसुकै संघर्षमा उत्रने तयार रहेको बताए ।
उनले पहिचानका नाममा धर्म, भाषा र जातिको गन्ध आउने गरी राज्य पुनर्संरचना गरिए समाजले स्वीकार गर्न नसक्ने उल्लेख गरे । समाजले भौगोलिक, प्रशासनिक अनुकूलता, स्रोत र साधनको उपलब्धता र आर्थिक सम्भाव्यताका आधारमा राज्यको पुर्न संरचना गरिनु पर्नेमा जोड दिएको छ