काठमाण्डु, २६ भदौ– सर्वपक्षीय राजनीतिक सभाको मिति र प्रक्रियाबारे छलफल गर्न बसेको काँग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका
शीर्ष नेताको बैठक बिनानष्कर्ष सकिएको छ ।
सहमति प्रयासमा प्रधानमन्त्री सुशील कोइरालाले बिहीकार बालुवाटारमा चार दलका नेताको बैठक बोलाएका थिए । बैठकमा भेलाको मितिबारे विवाद भएको नेताहरुले बताएका छन् ।
प्रमुख दल नेकपा–माओवादीको मागअनुसार सर्वपक्षीय राजनीतिक बोलाउन तयार भए पनि कहिले बेलाउने भन्नेमा विवाद छ । बैठकमा नेकपा–माओवादीले आगामी असोज ५ गते भेला बोलाउनुपर्ने माग गरेको छ ।
नेकपा–माओवादीको मागमा एमाओवादी सकारात्मक भए पनि सत्तारुढ काँग्रेस–एमाले कार्यतालिका प्रभावित हुने भन्दै यही महिनाभित्र भेला बोलाउनुपर्ने पक्षमा छन् ।
बैठकले भेलाको मिति र प्रक्रियाबारे टुंगो लगाउन पुन: चार दलीय कार्यदललाई जिम्मा दिइएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
चार दलबाट दुई–दुई जना रहेको ८ सदस्यीय कार्यदलमा सहमति नभएपछि कार्यदलले त्यसको जिम्मा शीर्ष नेतालाई नै दिएको थियो ।