भक्तपुर, २६ भदौ–पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेपछि उनका तीन बालबालिकाको बिचल्ली भएको छ ।
जुत्ता सिलाउने कामका लागि साउदी पुगेका भक्तपुर चाँगुनारायण–७ मिजार गाउँका ४० वर्षीय रामकृष्ण सार्की तीन महिना अरबमै थलिएर उपचार नहुने अवस्थामा घर फर्किएपछि तीन बच्चाको बिचल्ली भएको हो ।
गत वैशाख १६ गते साउदीबाट फर्किएलगत्तै परिवारले उनलाई वीर अस्पतालमा भर्ना गर्यो । तर तीन महिना उपचारपछि चिकित्सकले निको नहुने भनेर फर्काइदियो । बाबु बिरामी परेकै बेला आमा अर्कैसँग पोइल गएकाले आफूहरु बिचल्लीमा परेको उनकी जेठी छोरी सविताले बताइन् ।
‘बुबा हलचल गर्नै नसक्ने गरी थला पर्नुभएको छ । आमा हामीलाई यस्तो अवस्थामा छाडेर अन्तै पोइल गइन्, हाम्रो त विचल्ली भयो’, उनले भनिन् ।
बिहान बेलुकाको छाक टार्न आफूसँगै, १२ वर्षीय भाई सरोज र आठ वर्षीया बहिनी सलिनाले गाउँमा मागेर बिहान बेलुकाको छाक टार्न माग्ने गरेको सविताले बताइन् ।
तीन बालबालिकाको बिचल्ली भएपछि गाउँलेले सहयोगको याचना गर्दै नेपाल बैंक भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिएका छन् । तर अहिलेसम्म कसैले सहयोग गरेका छैनन् ।