ठग आफैंले गर्न थाले अपहरणको उजुरी

काठमाण्डु टुडे २०७१ भदौ २६ गते २:५३ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– लगानी गरेको रकम उठाउन उपत्यकामा एकैदिन तीनवटा अपहरणका घटना भएका छन् ।
ठगीबाट उन्मुक्ति पाउन ठगहरुले नै अपहरणको उजुरी हाल्ने गरेका छन् ।
ठगी बढेसँगै उपत्यकामा अपहरणका घटना पनि बढ्दै गएको महानगरीय प्रहरीले जनाएको छ । पछिल्लो एक सातामा मात्र लेनदेन विवादमा अपहरणका चारवटा घटना भएको महानगरीय महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्कीले जानकारी दिए ।
आफूले लिएको पैसा नतिर्ने नियतले सामान्य विवादमा पनि ठगहरुले अपहरणको उजुरी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । यस्ता घटनामा केही सातायता प्रहरीले अपहरण मुद्दा चलाउनसमेत छाडेको छ ।
प्रहरीले आइतबार लेनदेन विवादमा अपहरणमा परेका तीनजनाको उद्दार गरेको छ । आइतबार बेलुका ठिमीमा बुटवलका मोहन सुवेदीको अपहरण भएको भन्दै प्रहरीलाई खबर आयो । महानगरीय प्रहरी अपराध महाशाखाको टोली राति नै खटियो । ठिमीमा बन्धक बनाइराखेको सूचनाको आधारमा त्यहाँ प्रहरीले छापा हानेर सुवेदीलाई उद्दार गरेको थियो ।
सुवेदीको अपहरण गरेको आरोपमा मीनबहादुर तामाङ, नानीबहादुर तामाङ, दीपक गुरुङ र जमुना तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । तर, अनुसन्धानमा वैदेशिक रोजगारका नाममा सुवेदीले उनीहरुलाई ठगी गरेको र पैसा फिर्ता माग्दा नदिएपछि कोठामा राखेर पैसा फर्काउने कागज गराउन खोजेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us