बारा, २५ भदौ– बाराको पिप्राढी गाविसमा बुधवार स्थानीयबीच झडप भएको छ ।
झडपमा एक प्रहरीसहित कम्तिमा १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, नाक, हात र खुट्टामा चोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ५ राउन्ड हवाई फायर गर्नुपरेको थियो ।
गाउँका विद्यार्थीबीच शैक्षिक भ्रमणमा जाने वा नजाने भन्ने विषयमा सुरु भएको विवादमा अभिभावकसमेत मुछिएपछि झडप भएको हो ।
विद्यार्थीले गाविसद्वरा सञ्चालिक माछा पोखरीको आम्दानी शैक्षिक भ्रमणका लागि दिनुपर्ने माग गर्दै विद्यार्थीको एक समूहले मंगलबार प्रदर्शन गरेको थियो ।
तर अर्को समूहले गाविसको रकममा भ्रमणमा जान नहुने भन्दै विरोध गरेपछि झडप भएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले घटनाबारे अनुसन्धान थालिएको बताए ।