काठमाण्डु, २५ भदौ– एकीकृत माओवादीसहति प्रतिपक्षी दलले बुधबार पनि संसद् अवरुद्ध गरेका छन् ।
उच्चस्तरीय राजनीतिक समिति गठनलगायत चार बुँदे सहमति कार्यान्यवनको माग गर्दै विपक्षीले लगातार संसद चल्न दिएका छैनन् ।
बुधबार संसद अवरुद्ध भएको चौथोपटक हो । संसद बैठक सुरु हुनेबित्तिकै विशेष समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भरतीय विदेशमन्त्री सुष्मा स्वँराजसँगको भेटमा अर्थमन्त्री रामशरण महतले संघीयताबारे दिएको अभिव्यक्तिको कडा आलोचना गरे । महतले संघीयताको विषय तत्कालका लागि थाती राखेर संधिवान जारी गर्न सकिने बताएका थिए ।
उनले सत्तारुढ दलहरु संघीयताबिनाको संविधान जारी गर्ने कसरतमा रहेको भन्दै आपत्ति जनाए । अर्थमन्त्री महतले विदेशीसँग कुटनीतिक मर्दायाविपरीत आत्मसमर्पण गरेको आरोप उनको थियो । उनले मधेसवादी दललाई राष्ट्रघाती र आफूलाई राष्ट्रवादी दाबी गर्ने दलका नेताहरु नै विदेशी प्रभुका अगाडि झुकेको आरोप लगाए ।
‘अर्थमन्त्री दिल्ली जाँदा संघीयता थाती राखेर संविधान जारी गर्न सकिन्छ भन्दै विदेशी प्रभुसँग आर्शिवाद मागेको होइन ?’ उनको प्रश्न थियो । उनले यसअघि पटकपटक गरिएका प्रतिबद्धताविपरीत सत्तारुढ दलका नेता र मन्त्रीहरुले बहुमतको घमण्ड देखाएर संघीयताविरोधी अभत्तिवयक्ति दिँदै हिंडेकामा पनि विरोध जनाए ।
मधेसलाई पाखा लगाएर संविधान बनाइए कार्यान्वयन हुन नसक्ने उनको चेतावनी थियो । सभाध्यक्ष सुवास नेम्वाङले विदेश नजान पटकपटक दिएको निर्देशनको बेवास्ता गर्दै सत्तापक्षका सभासदहरु विदेश सयरमा जानुले सत्तापक्ष संविधान नबनाउने नियतका साथ अघि बढेको प्रष्ट भएको जिकिर गरे ।
प्रतिपक्षीको अवरोधका कारण व्यवस्थापिका–संसदको अर्को बैठक बिहीबार साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ ।