काठमाण्डु, २५ भदौ– एकीकृत माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
शर्माले बुधबार अपराह्न पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा राजीनामा बुझाएका हुन् ।

उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरी लेखिएको राजीनामापत्र पार्टी केन्द्रीय कार्यालयका सचिव हितराज पाण्डेलाई बुझाएको काठमाण्डु टुडेलाई बताए ।
२०६७ मंसिरमा काठमाण्डुमा भएको अठारौं सम्मेलनबाट शर्मा क्रान्तिकारीको अध्यक्ष निर्वाचित भएका थिए । गत २०७० चैतमा काठमाण्डुमै भएको १९ औं राष्ट्रिय सम्मेलनमा शर्मापछि नेतृत्व कसले लिने भन्नेबारे विद्यार्थी नेताहरुबीच हानथाप भएपछि एमाओवादी शीर्ष नेतृत्वले तीन महिनाका लागि शर्माकै कार्यसमितिलाई काम गर्न निर्देशन दिएको थियो ।
तर, उक्त समयमा विस्तारित बैठक वा राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन गर्ने भनिए पनि त्यसो हुन नसकेपछि आफैंले राजीनामा दिएको शर्माले बताए ।
‘दुईवटा कार्यकारी पद लिएर बस्दा दुवैतिरको जिम्मेवारी राम्ररी पूरा गर्ने सकिन’, शर्माले काठमाण्डु टुडेसँग भने, ‘आगामी नेतृत्वका लागी सकारात्मक ढंगले मार्गप्रसस्त गर्न राजीनामा दिएको हुँ ।’
शर्मा एमाओवादीको काठमाण्डु जिल्ला अध्यक्षसमेत छन् । उनले राजीनामाबारे अध्यक्ष प्रचण्डलाई यसअघि नै मौखिक जानकारी गराइसकेको बताए । तर प्रचण्डले राजीनामा नदिने भनेको शर्माले जानकारी दिए ।
‘उहाँ ९प्रचण्ड० ले हतारमा राजीनामा नदिनुस्, सल्लाह गर्नुपर्छ भन्नुभएको थियो, शर्माले भने, ‘मैले राजीनामा दिन्छु, अनि सल्लाह गरौंला भनेको छु ।’
यस्तो छ शर्माको राजीनामा पत्रको पूर्णपाठ
कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय कार्यालय, पेरिसडाँडा काठमाण्डु ।
विषय: राजीनामा पत्रबारे ।
कमरेड,
हाम्रो महान तथा गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी) को महत्वपूर्ण जनवर्गीय संगठन अनेरास्ववियु (क्रान्तिकारी) हो भन्ने कुरा सर्वविदितै छ । त्याग तपस्या र बलिदानको इतिहास बोकेको र देशव्यापी संरचना फैलिएको लाखौंलाख क्रान्तिकारी विद्यार्थीहरुको प्रतिनिधि संगठन अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षजस्तो महत्वपूर्ण पदमा रहेर आजसम्म जिम्मेवारी सम्हाल्दै आएको छु ।
नेपाली वामपन्थी–क्रान्तिकारी विद्यार्थी आन्दोलनमा आफ्नो २८ वर्षे संघर्षशील राजनीतिक जीवनका विभिन्न आरोहअवरोह पार गर्दा प्राप्त भएका मेरा ऐतिहासिक अनुभव समग्र आन्दोलनका सम्पत्ति हुन् भन्ने बुझेको छु । १४ वर्षको उमेरमा २०४३ मा पञ्चायती जेलमा परेदेखि आजसम्म पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाली विद्यार्थी आन्दोलनमा निरन्तर क्रियाशील रहँदै आएको छु । यसबीचमा विद्यार्थी आन्दोलन र वर्गसंघर्षको क्रममा पटकपटक गरी १० वर्ष जेल जीवन बिताएको र रिहा भएपछि पनि निरन्तर विद्यार्थी मोर्चा सम्हाल्दै बढ्नु परेको कारणले मेरो उमेरको हिसाबले लामो समय विद्यार्थी आन्दोलनमा खर्च हुन पुगेको हो ।
क्रान्तिकारी विद्यार्थी आन्दोलनको मोर्चा सम्हाल्ने क्रममा २०५८ मा भएको पन्ध्रौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिव, २०६० को सोह्रैं राष्ट्रिय सम्मेलनबाट महासचिव, २०६३ को सत्रौं राष्ट्रिय सम्मेलनमा पुन: महासचिव, २०६७ को अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष र २०७० को उन्नाइसौं राष्ट्रिय सम्मेलनमा पुन: अध्यक्षको जिम्मेवारी बहन गर्दै आएको छु । यसरी आन्दोलनको आवश्यकता बमोजिम १३ वर्ष अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय नेतृत्व तहमा रहेर जिम्मेवारी सम्हालें ।
पछिल्लो सन्दर्भमा, गत चैत्रमा सम्पन्न संगठनको उन्नाइसौं राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माणमा देखिएको विविध अप्ठ्यारोका कारण आफ्नो चाहाना नहुँदानहुँदै
पनि पार्टी केन्द्रको आग्रहमा म फेरि अध्यक्षको जिम्मेवारी सम्हाल्न बाध्य भएँ । तीन महिनापछि आफू हट्न पाउनुपर्ने सर्तमा मैले जिम्मेवारी स्वीकार गरेको कुरा स्मरण गराउन चाहन्छु । आज तीन महिना पनि बितिसकेको छ । यसबीचमा म एनेकपा (माओवादी) काठमाण्डु जिल्ला सम्मेलनबाट अध्यक्षमा समेत निर्वाचित भई गत असार १५ गतेबाट जिल्ला पार्टीको नेतृत्व गरिरहेको छु । आन्दोलनमा राष्ट्रिय प्रभाव पार्ने अनेरास्व्वियु (क्रान्तिकारी) को अध्यक्ष र काठमाण्डुजस्तो सामरिक महत्व राख्ने जिल्लाको पार्टी अध्यक्षको जिम्मेवारी सँगसँगै बढाउन मेरो समय अवश्य पुग्दैन । महत्वपूर्ण संस्थाको दुईदुई वटा कार्यकारी पदमा रहेर बस्नु समग्र आन्दोलन निम्ति पनि फाइदाको विषय बस्तु होइन ।
तसर्थ, मैले अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको पदबाट मुक्तहुन यो राजीनामा पत्र पेश गरेको छु । मेरो यस कदमले नयाँ नेतृत्वको लागि सकरात्मक बाटो खुल्नेछ भन्ने ठान्दछु । आगामी नयाँ नेतृत्वको लागि पार्टी केन्द्र र फ्रयाक्सनले यथाशिघ्र पहल गरोस् भन्ने अनुरोधसमेत गर्न चाहन्छु । म अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्ष नरहे पनि पार्टीको तर्फबाट विद्यार्थी फ्र्याक्सन कमिटीको सदस्य र निवर्तमान अध्यक्षको हैसियतले आगामी दिनमा विद्यार्थी मोर्चालाई आवश्यक सहयोग गरी नै रहनेछु । साथै क्रान्ति र परिवर्तनको लागि मेरो बाँकी जीवन पार्टीमै समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहान्छु ।
क्रान्तिकारी अभिवादनसहित ।
हिमाल शर्मा