
काठमाण्डु, २४ भदौ–एकीकृत माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले संघीयताबारे आफ्ना धारणा स्पष्ट गर्न सत्तारुढ काँग्रेस–एमालेसँग माग गरेका छन् ।
मोर्चा आवद्ध दलहरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका छन् ।१२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, शान्ति सम्झौता, अन्तरिम संविधान, ४ बुँदे सहमतिलगायत सहमतिको मर्म र भावनाविपरीत ‘पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान’ को घोषणा गर्नु रहेको भए पनि काँग्रेस–एमालेका नेताले त्यसविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
अर्थमन्त्री रामशरण महतले ‘संघीयतालाई थाती राखेर संविधान घोषणा गर्नु उचित हुने’ विचार सार्वजनिक गर्नु तथा सत्तारुढ दलका अध्यक्ष केपी अोलीले समेत मधेसी, जनजाति र पहिचानविरुद्ध देशबाहिर गएर अभिव्यक्ति दिनु अत्यन्त आपत्तिजनक, गैरजिम्मेवार र जनविरोधी भएको मोर्चाले जनाएको छ ।
‘यस्ता जनविरोधी र प्रतिगामी विचारलाई कडा शब्दमा भत्र्सना गर्दै यी विचार कांग्रेस, एमाले र सरकार समेतको हो कि भन्ने गम्भीर प्रश्न खडा भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अत: यस सम्बन्धमा आफ्नो स्थिति स्पष्ट पार्न मोर्चा ती सम्बद्ध सबै पक्षसँग जोडदार माग गर्दछ ।’ त्यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवार काँग्रेस–एमाले हुने चेतावनी मोर्चाले दिएको छ ।