विश्वका युवाले बुद्ध र सगरमाथाको प्रचार गर्ने

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ७:१६ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– विश्वका विभिन्न देशका युवा नेताले नेपाललाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देशका रुपमा संसारभर चिनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
एमाले सम्बद्ध युवा संघको आयोजनामा राजधानीमा भएको विश्व प्रजातान्त्रिक युवा संघको एसिया प्रशान्त क्षेत्रीय बैठकमा सहभागी युवा नेताहरुले बुद्धको जन्मस्थलबारेको भ्रम हटाउन पहल गर्ने बताएका हुन् ।
सम्मेलनमा ५३ देशका युवा संगठनका प्रमुख नेताहरु सहभागी थिए । बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रीलंकाका शिक्षा तथा मानवस्रोत मन्त्री दुमिन्दा देशनायकेले बुद्द जन्मस्थल नेपाल विश्वका शान्तिप्रेमीहरुको गन्तव्य हुने बताए ।

श्रीलंका फ्रिडम पार्टीका युवा नेतासमेत रहेका देशनायकेले आफू बुद्धभूमिको नेपाल भएको सन्देश विश्वभर फैलाउन लाग्ने बताए । विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष गिरिश फोण्डेले नेपाल बुद्ध जन्मस्थल भएको स्थापित गर्न आफ्नो संगठन लागि पर्ने बताए ।
युवा संघ अध्यक्ष महेश बस्नेतले बैठकले भारत र चीनबीचको समझदारीमा कायम गर्दै एसिया प्रशान्त क्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने उल्लेख गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको बैठकमा नेपालसहित भारत, श्रीलंका, चीन, बंगलादेश, पाकिस्तान, भुटान र उत्तर कोरियाका १४ युवा तथा विद्यार्थी संगठनका नेता सहभागि थिए । अर्को बैठक सन् २०१५ मा श्रीलंकामा बस्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us