गोरखा, २४ भदौ– पार्टी एकताका लागि छलफल गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यका कार्यकर्ताले सोमबार गोरखामा एउटै मञ्चमा संयुक्त कार्यक्रम गरेका छन्।
सशस्त्र द्वन्द्वकालमा मारिएका माओवादीका तत्कालीन पोलिटब्युरो सदस्य सुरेश वाग्ले बासुुको स्मृतिमा आयोजित कार्यक्रमलाई दाहाल र वैद्यका कार्यकर्ताले संयुक्त बनाएका हुन् । तर दाहालकै पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षका कार्यकर्ताले भने छुट्टै कार्यक्रम आयोजना गरे ।
गोरखाको गाँखुमा १५ वर्षअघि मारिएका वाग्ले, प्लाटुन कमान्डर भीमसेन पोखरेल बैरागी र विजय खनालको सम्झनामा दाहाल र वैद्य पक्षका कार्यकर्ताले निर्माण व्यवसायी संघको हलमा कार्यक्रम गरेका थिए भने भट्टराई पक्षका कार्यकर्ताले जिविस हलमा विचारगोष्ठी गरेका थिए ।
संयुक्त कार्यक्रम एमाओवादीका जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा भएको थियो भने नेकपा माओवादीका सहसेक्रेटरी नारायण अधिकारीले सञ्चालन गरेका थिए।
नेकपा-माओवादीका तर्फबाट मुख्य वक्ता केन्द्रीय सदस्य तथा पार्टीको तमुवान राज्य समितिका संयोजक श्रीनाथ अधिकारी थिए भने एमाओवादीका तर्फबाट मुख्य वक्ता तमुवान राज्य समिति इन्चार्ज तथा पोलिटब्युरो सदस्य हरि अधिकारी थिए। सभासद् कृष्ण धिताल र छमबहादुर गुरुङ पनि कार्यक्रममा सहभागी थिए।
भट्टराई पक्षले गरेको कार्यक्रममा केन्द्रीय सदस्य खिमलाल देवकोटाले नेपालमा कम्युनिस्ट आन्दोलन र आजको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गोरखामा भट्टराई पक्षका कार्यकर्ताले समानान्तर कमिटी गठन गरी छुट्टै पार्टी कार्यालय सञ्चालन गर्दै आएका छन् ।
भट्टराई पक्षको कार्यक्रममा समानान्तर कमिटीका अध्यक्ष यानप्रसाद भट्टले अध्यक्षता गरेका थिए भने सचिव रमेश पोखरेलले सञ्चालन गरेका थिए। दुवै कार्यक्रममा सहभागी संख्या भने बराबरजस्तै थियो ।
दाहाल र वैद्य पक्षको संयुक्त कार्यक्रममा पोलिटब्युरो सदस्य हरि अधिकारीले एउटै पार्टीभित्र चिरा देखिएकोप्रति दुस्ख व्यक्त गर्दै वैद्यसँग एकताको सम्भावना गाढा बन्दै गएको बताए। नेकपा-माओवादी र हाम्रो विचार मिलेको छ, वाद मिल्न बाँकी छ, उनले भने, विवाद मिल्नेबित्तिकै पार्टी एक हुनेछ।
माओवादीका केन्द्रीय सदस्य श्रीनाथ अधिकारीले दाहाल वा भट्टराई कुन समूहलाई आधिकारिक मानेर पार्टी एकता गर्ने भन्नेमा अलमल परेको भन्दै व्यंग्य गरेका थिए । दुई नेता अलगअलग हिँड्दैछन्, हाम्रो एकता प्रचण्डसँग कि बाबुरामसँग ? अधिकारीले भने, विचार मिलेर मात्र हुँदैन, मन मिलेर मात्र हुँदैन, वाद मिल्नुपर्छ अनि मात्र पार्टी एकता हुन्छ।
कार्यक्रमपछि भट्टराई निकट नेता देवकोटाले भने, हामीले संयुक्त रूपमा कार्यक्रम गर्न आग्रह गस्यौं तर सम्भव भएन । माओवादीका नेता श्रीनाथले भट्टराई पक्ष औपचारिक रूपमा विभाजित भइनसकेका कारण आफूहरूले दाहाल पक्षलाई औपचारिक मानेर संयुक्त कार्यक्रम गरेको बताए।
काठमाडौंस्थित पार्टी मुख्यालयमा आयोजित यस्तै कार्यक्रममा अध्यक्ष दाहाल, नेता भट्टराई, नारायणकाजी श्रेष्ठ, पोस्टबहादुर बोगटी र कृष्णबहादुर महरा सहभागी थिए। केन्द्रमा वैद्य र महासचिव रामबहादुर थापासँग दाहालले र सचिव नेत्रविक्रम चन्दसँग भट्टराईले पार्टी एकतालाई केन्द्रमा राखेर छलफल गर्ने समझदारी भएको छ । समझदारीअनुसार भट्टराईले चन्दसँग र दाहालले वैद्य तथा थापासँग छलफल पनि गरेका छन ।
अन्न्पूर्ण पोष्टबाट