काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहला ‘प्रचण्ड’ बीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको भेटमा प्रचण्डले सत्तारुढ काँग्रेस–एमाले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानबाट पछि हटेकाले दोश्रो संविधानसभाबाट समेत संविधान जारी नहुने आशंका बढेको बताएका थिए ।
प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काका अनुसार प्रचण्डले संविधानसभाबाट संविधान जारी नभए मुलुक दुर्घटनामा जाने भन्दै उक्त दुर्घटना रोक्नका लागि जिम्मेवारीपूर्वक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । ‘फेरि पनि संविधान नबन्ने खतरा देखियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै खड्काले काठमाण्डु टुडेसँग भने, ‘संविधान बनेन भने मुलुक ठूलो दुर्घटनामा जान्छ, प्रधानमन्त्रीको हैसियतमा दुर्घटना रोक्ने जिम्मेवारी तपाईंको हो ।’
यस्तै प्रचण्डले तत्काल गोलमेच सभा आयोजना गरी मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा सँगै लिएर जान विशेष भूमिका खेल्न आग्रह गरेको खड्काले बताए । यस्तै प्रचण्डले प्रमुख विपक्षीसहित विपक्षी दलले गर्दै आएको संसदको अवरोध हटाउन चासो नदिएको भन्दे आपत्ति जनाए ।
चार बुँदे सहमति अक्षरस: पालना गर्दै संसदको अवरोध हटाउन उनको आग्रह थियो । प्रचण्डले राष्ट्रिय मानवअधिकार आयोग, लोकसेवा आयोग तथा विभिन्न मुलुकमा राजदूत नयुक्ति प्रक्रियामा ढिलाइ भइरहेको भन्दै प्रधानमन्त्रीको ध्याानकर्षण गराएका छन् । तत्काल संवैधानिक परिषदको बैठक डाकेर संवैधानिक निकायमा रिक्त पदाधिकारी र सदस्य नियुक्त गरिनुपर्ने माग प्रचण्डले राखेको खड्काले बताए ।
जवाफमा प्रधानमन्त्री कोइरालाले तोकिएकै मितिमा संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सहयोग गर्न प्रचण्डलाई आग्रह गरे । प्रचण्डको सहयोगबिना शान्ति र संविधानको कार्यभार पू्रा हुन नसक्नेमा आफू प्रष्ट रहेको कोइरालाले बताए । ‘तपाईंको सहयोगबिना शान्ति र संविधानको काम पार लगाउन सकिन्छ भन्ने मैले ठानेको छैन’, कोइरालाको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘यसमा मलाई तपाईंको पूर्ण समर्थन र सहयोग चाहिन्छ ।’