किन भयो शीतलनिवासमा नाराबाजी ?

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ३:५५ मा प्रकाशित

shital niwasकाठमाण्डु, २४ भदौ –सोमबार बिहान घाम छिप्पिँदै थियो । राष्ट्रपति भवन शीतलनिवासमा पनि चहलपहल बढ्दै थियो । विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थी राष्ट्रपतिबाट पदक लिने उत्साहका साथ राष्ट्रिय पोसाकमा सजिएर शीतल निवासअगाडि टाँगिएको पालमुनि धैर्यपूर्वक बसिरहेका थिए । साथमा थिए आफन्त र साथीभार्इ पनि ।
त्यत्तिकैमा शीतल निवासभित्र रहेको मञ्चबाट कार्यक्रम सञ्चालकको आवाज आउन थाल्यो । पालमुनि बसेर राष्ट्रपतिलाई पर्खेका विद्यार्थीले पल्याकपुलुक हेर्न थाले, राष्ट्रपति कहाँ छन् भनेर । केही समय त उनीहरूले सुनिरहे ।
तर मानिसको अनुहार नदेखिने आवाज भने आउने क्रम बढ्दै गएपछि उनीहरूलाई नमज्जा लाग्न थाल्यो । कार्यक्रम यस्तो थियो, न त मञ्चबाट भाषण गर्नेले दर्शकलाई देख्थे, न त दर्शकदीर्घामा रहेकाले मञ्चयमा बोल्नेलाई हेर्न सक्थे ।
यही विषयलाई लिएर नेपाल विद्याभूषण पदक लिन बसेका विद्यार्थी आक्रोशित भए अनि नाराबाजी गर्न थाले । नाराबाजीका कारण राष्ट्रपति कार्यालयले भवनभित्र रहेको मञ्चलाई बाहिरमात्र सारेन, भवनभित्र मञ्च बनाउनु गल्ती भएको भन्दै राष्ट्रपति डा। रामवरण यादवले माफी पनि मागे ।
विगतमा राष्ट्रपति भवन परिसरमा मञ्च बनाएर त्यही ठाउँबाट पदक वितरण गरिँदै आए पनि यस वर्ष मौसम खराब भएको भन्दै राष्ट्रपति कार्यालयले भवनभित्र मञ्च बनाएको थियो । पदक विजेता बस्न भने चौरमा पाल टाँगेर कुर्सी राखिएको थियो । पदक लिन कार्यालयभित्र बोलाएर आफन्त र अन्य दर्शकलाई बाहिर राख्न खोजेको भन्दै विजेताले विरोध गरेका थिए ।
मञ्चबाट सभामुख सुवास नेम्वाङले भाषण गरिरहँदा आवाज मात्र सुनेपछि ‘क’ वर्गको विद्याभूषण पदक लिन पहिलो लाममा बसेका विद्यार्थीले नाराबाजी गरेका थिए । अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us