काठमाण्डु, २३ भदौ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेता बाबुराम भट्टराई नराम्र्ररी चिप्लिएका कारण संविधानसभा
निर्वाचनमा पार्टी तेश्रो स्थानमा खुम्चिएको बताएका छन् ।
सहिद सुरेश वाग्ले ‘बासु’ को स्मृतिमा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादी षडयन्त्र बुझ्न नसक्दा पार्टी पराजित भएको बताए । आफ्ूहरुको नियतमा कुनै खोट नरहेको भन्दै उनले काँग्रेस–एमालेका चिप्ला कुरा बुझ्न नसकेर भावनामा निर्णय गर्दा हारिएको उनको भनाइ थियो । ‘प्रतिक्रियावादीका चिप्ला कुरामा बाबुरामजी र म चिप्लियौं’, प्रचण्डले भने, ‘म सुरेश वाग्लेसहित सम्पूर्ण सहिद र बेपत्ता योद्धहरुलाई स्मरण गरेर भन्दैछु, हाम्रो सोचाइमा कुनै खोट थिएन, मनोगत भएका कारण यस्तो भयो ।’
बाबुरामसँग व्यक्तिगत झगडा छैन
पचण्डले आफू र बाबुराम भट्टराईबीच कहिल्यै व्यक्तिगत झगडा नभएको बताए । उनले वैचारिक बहस र मतभिन्नतालाई सत्रुतामा बदलेर पार्टी कमजोर पार्न खोज्ने प्रवृत्तिसँग सचेत रहन पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे । फरक मत राख्नेलाई पार्टीबाट निकालेर मिल्नेहरु मात्र बस्नुपर्छ भन्ने र अल्पमतमा पर्नेबित्तिकै पार्टी छाडेर हिंड्न खोज्ने दुवै अतिवादी प्रवृत्ति पार्टी र जनताका लागि खतरनाक रहेको औंल्याए । ‘अतिवादी प्रवृत्तिका कारण पार्टी फुट्यो भने हामी कहिल्यै उठ्न सक्दैनौं’, उनले भने, ‘फरक मत राख्नेलाई खेदेर मिल्नेमात्र बस्नुपर्छ भन्ने र बाक्लो दाल खान हतारिने दुवै देश, जनता र पार्टीका लागि घातक हुन् ।’ अतिवादबाट पार्टीलाई जोगाउन नसके जनताको हार र प्रतिक्रियावादीको जित हुने भएकाले एकताका पक्षमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिए । अर्को एक फरक प्रसंगमा उनले माओवादी कमजोर हुँदा आफूहरुलाई हेपिएको भन्दै नेकपा–माओवादीसहित पार्टीबाट अलग भएका सबैसँग एकता गरेर छिट्टै पार्टीलाई मुलुकको कमाण्डर बनाउने उद्घोष गरे ।
काँग्रेस–एमाले घेरा तोड्न खोज्दै
अध्यक्ष प्रचण्डले आफूहरु कमजोर भएका कारण परितवर्तन धरापमा परेको भन्दै जनभावनाअनुसार संविधान बनाउन संविधानसभाभित्र र बाहिरबाट संघर्ष गर्नुपर्ने बताए । विगतमा आफूहरुको दुई तिहाई हुँदा पनि संविधान बनाउन नदिइएको दाबी गर्दै उनले काँग्रेस–एमाले पूर्वसहमतिबाट पछि हटेकाले संविधान निर्माणमा जटिलता आएको बताए । ‘संघर्ष घोषणा गरेको भए पन हामी १२ बुँदे सहमति र शान्ति सम्झौताको घेरा तोड्न सक्दैनौं’, प्रचण्डले भने, ‘तर अर्को पक्षले १२ बुँदे, शान्ति सम्झौता, अघिल्लो संविधानसभाले तोकेको घेरा तोड्दै छ ।’