रोजगार विभागमा सक्कली भिसा, अध्यागमनमा नक्कली

काठमाण्डु टुडे २०७१ भदौ २३ गते १:५३ मा प्रकाशित

काठमाण्डु, २३ भदौ –वैदेशिक रोजगार विभागले अन्तिम श्रम स्वीकृति दिएपछि वैदेशिक रोजगारीका लागि दुबई जान आइतबार त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थल पुगेका २० जना युवालाई अध्यागमन कार्यालयले नक्कली भिसा भन्दै फिर्ता गरेको छ ।

ती युवालाई बसुन्धरास्थित एसओएस म्यानपावरले दुबईको फ्युचर पाइप इन्डस्ट्रिमा पठाउन लागेको थियो । वैदेशिक रोजगार विभागले सक्कली भिसा भन्दै ती युवाल्ई वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति दिएको थियो ।

त्यही स्वीकृतिका आधारमा जान लागेका युवालाई विमानस्थलस्थित अध्यागमन विभागका अधिकृतले भने फिर्ता गरिदिए । ती युवाले बोर्डिङ पास पाइसकेपछि अध्यागमनका कर्मचारीले भिसा परीक्षण गरेका थिए ।

परीक्षण गर्दा सक्कली कागज नभएको र इन्टरनेटमा हेर्दासमेत सक्कली भिसाको रेकर्ड नपाएपछि जान रोकेको अध्यागमनका उपसचिव रामराज सुवेदीले बताए । वैदेशिक रोजगार विभागले सक्कली भिसा नभएसम्म अन्तिम श्रम स्वीकृति दिन मिल्दैन ।

एसओएसले फिर्ता भएका कामदारको अन्तिम श्रम स्वीकृति लिने बेलामा सक्कली भिसा पेस गरेको थिएन । एसओएस म्यानपावरका प्रबन्ध निर्देशक सोमलाल बाटाजुले सक्कली भिसा कागजबेगरै वैदेशिक रोजगार विभागले इन्टरनेट रेकर्डका आधारमा अन्तिम श्रम स्वीकृति दिएको बताए ।
अन्नपर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us