
काठमाण्डु, २२ भदौ- प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।
बीपी कोइराला स्मृति ट्रष्टले आइतबार राजधानीमा गरेको कार्यक्रममा कोइरालाले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै माफी मागे । कार्यक्रममा सहभागी पार्टी कार्यकर्ता र सर्वसाधारणसँग उनले दुई हात जोडेर माफी मागेका थिए ।
शान्ति र संविधानमा ध्यान केन्द्रित गर्नुपरेका कारण जनचाहनाअनुसार काम गर्न नसकेको उनको भनाइ थियो । उनले आफ्नो पूरै ध्यान संविधान लेखनमा केन्द्रित गरेको बताए ।
स्वास्थ्यको कुनै पर्वाह नगरी आगामी माघ ८ गते संविधान जारी गर्न प्रमुख दलका नेतासँग छलफल गरिरहेको कोइरालाले बताए ।
तोकिएकै मितिमा संविधान जारी गरेर मुलुकलाई विकासको बाटोमा हिडाउन प्रयासरत रहेको भन्दै उनले मुलुक र जनताप्रति बेइमानी नगर्ने प्रतिबद्धता जनाए ।
अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएको डेढ महिनापछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।