गोरखा, २२ भदौ– प्रहरीले गोरखाको आरुघाटबाट ६ सय ५० किलोग्राम रक्तचन्दनसहित तीनजनालाई पक्राउ गरेको छ ।
धादिङबेशीबाट आरुघाट जाँदै गरेको ग १ ख ४१२९ नम्बरको मिनिट्रकमा राखेर लगिएको रक्तचन्दन आरुचनौटे–१ आरुघाट बजारमा चेकजाँचका क्रममा बरामद भएको हो ।
प्रहरीले मकैको बोराले छोपेर लगिएको २६ बोरा रक्तचन्दन बरामद भएको जनाएको छ । बरामद गरिएको रक्तचन्दनको मूल्य ३ करोडभन्दा बढी पर्छ ।
प्रहरीले रक्तचन्दनसँगै गोरखा केराउला–१ का आइतराम गुरुङ, मिनिट्रक चालक धादिङका राजु सिलवाल र सहचालक सूर्य तामाङलाई पक्राउ गरेको छ ।