
एजेन्सी– स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ ।
ह्याण्डलोभा सहरमा आयोजित एक बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।
उक्त स्थान राजधानी ब्राटिस्लाभाबाट करिब १ सय ८० किलोमिटर टाढा हो । ह्याण्डलोभास्थित एक सांस्कृतिक केन्द्र अगाडि मानिसहरूलाई नमस्कार फर्काइरहेका बेला भीडबाट उनीमाथि गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनको पेट, हात र खुट्टामा चोट लागेको छ ।
प्रधानमन्त्री फिकोलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ । प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमार्फत दिइएको जानकारीअनुसार उनको अवस्था गम्भीर छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।