लोकप्रिय अर्थमन्त्री भरतमोहनकी छोरी लीमा रास्वपा कोषाध्यक्ष मनोनित

काठमाण्डु टुडे २०८० मंसिर १३ गते २०:३५ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिवंगत वरिष्ठ वामपन्थी नेता एवं लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारीलाई पार्टीको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले अधिकारीलाई पदाधिकारीमध्येको महत्वपूर्ण मानिले कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।

अधिकारी यसअघि विदेश विभाग हेर्ने पार्टीको केन्द्रीय सदस्य थिइन् । अधिकारीको एमालेसँग लामो र ऐतिहासिक बिरासत जोडिएको छ ।

उनका ठूलोबुबा मनमोहन अधिकारी नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुन् । एमालेको ९ महिने शासनकालमा भरतमोहन प्रधानमन्त्री र बुबा भरतमोन अर्थमन्त्री थिए । त्यही लोकप्रिय सरकारको बिरासतमै एमालेले अहिलेसम्म राजनीति गरिरहेको टिप्पणी हुने गरेको छ ।

‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेका कारण दिवंगत भएपछि पनि लीमाका बुबा भरतमोहनलाई विशेष स्मरण गर्ने गरिएको छ

। लीमा स्वयं लामो समय एमालेमै थिइन् । पछिल्लोपटक एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्य भइन् ।

उनी गत फागुनमा रास्वपा प्रवेश गरेकी थिइन् । लीमा बुबा भरतमोहनको नाममा स्थापित भरतमोहन अधिकारी फाउण्डेशनमार्फत समाजसेवामा पनि सक्रिय छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us