
तनहुँ, २६ जेठ– तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणमा परी एक बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार साँझ करिब ७ः३० बजे आफ्नै घरको आँगनमा खेलिरहेका स्थानीय ल बहादुर गुरुङका ६ वर्षीय छोरा उत्समाथि चितुवाले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै बन्दीपुर अस्पताल लगिएको थियो । अस्पताल पुर्याछएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तनहुँ प्रहरीका डीएसपी अशोक थापाले चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
तनहुँमा पछिल्ला केही वर्षयता चितुवाको आक्रमणमा बालबालिकाको ज्यान जाने घटना दोहोरिएका छन्। भानु, व्यास, शुक्लागण्डकी, आँवुखैरेनी र बन्दीपुर लगायतका क्षेत्रमा चितुवाको सक्रियता देखिँदै आएको छ ।
डिभिजन वन कार्यालय तनहुँका वन कार्यालयका अनुसार पछिल्लो ६ वर्षमा चितुवाको आक्रमणबाट जिल्लामा १४ जना बालबालिकाको मृत्यु भइसकेको छ ।