
काठमाण्डू, २६ जेठ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ गर्नुपर्ने अवस्था देखिएको बताए ।
देशका सबै भूभागमा विकास हुने गरी योजना बनाउनुपर्नेमा उनले जोड दिए ।
सभापति देउवाले जलवायु परिवर्तनको असर सबैभन्दा बढी नेपालमा पर्ने देखिएकाले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए ।
देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ ।
युवाहरू विदेश पलायन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा सभापति देउवाले जोड दिए ।