कांग्रेसले पूर्वगृहमन्त्री खाँणबारे सभापति देउवा फर्केपछि मात्रै निर्णय गर्ने

काठमाण्डु टुडे २०८० असार २ गते १४:१४ मा प्रकाशित

काठमाण्डु,२ असार– कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय पूर्व प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा फर्केपछि मात्रै निर्णय गर्ने भएको छ ।

सभापति देउवा उपचारका लागि अहिले सिंगापुर रहेका छन । देउवा असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन ।

कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्, ‘देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।

कार्यबाहक जिम्मेवारी पाएपनि उपसभापतिले रिस्क लिन चाहनुभएन , ‘सभापति नआइकन यो विषयमा छलफल हुने देखिएन ।’ २७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाण्डु जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सभापति देउवाले खाँण पक्राउ परेकै दिन ९वैशाख २७ ० मा पदाधिकारीसँग परामर्श गरेका थिए ।खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने गरी शीर्ष नेतामा फरक फरक तर्क आएपछि देउवाले वैशाख २८ मा वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठक डाकेका थिए ।

उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए ।

सभापतिसहित बहुसंख्यक नेताहरुले निलम्बन गर्न नहुने अडान लिएपछि कांग्रेस खाँणको निलम्बनमा गर्ने वा नर्गेने भन्ने बिषयमा मौन बसेको छ ।

निलम्बन गर्न नहुने पक्षमा रहेका नेताहरुले कांग्रेसमा विगतमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकालाई समेत निलम्बन नगरिएको नजिर देखाएका छन् ।

खाँण थुनामा पुगेपछि समेत पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा कांग्रेसको कुनै धारणा बाहिर आएको छैन । यता एमालेले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री एवं नेता टोपबहादुर रायमाझीलाई भने सचिव पदबाट निलम्बन गरिसकेको छ ।

शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएपछि रायमाझीको सांसद पद पनि निलम्बन भएको छ । प्रहरी अनुसन्धानका क्रममा र अदालतमा भएका बयानको क्रममा खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि पनि यो प्रकरणमा आफू संलग्न नभएको जिकिर गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us