
झापा, २३ जेठ– शुक्रबार झापाको कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् । स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो ।
घाइते हुनेमा ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की छन् ।
घाइतेहरूको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
शुक्रबारै झापाकै कमल गाउँपालिका–२ तोपगाछीमा बाथरुमा चिप्लिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ९३ नरप्रसाद पौडेल छन् ।
आफ्नै घरको बाथरूमबाट निस्किने क्रममा चिप्लिएर लड्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित शिक्षण अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।