
काठमाण्डु, २८ वैशाख– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन ।
आज (बिहीबार) आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन ।
उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बताएका छन । उनले भने, ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन्, ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्रै नभएर संगठित अपराध भएको बताएका छन । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धकै अपराध भएको पनि उनले बताएका छन ।
मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्दै दबाब आए त्यसलाई थेगेरै भएपनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याइने दृढता व्यक्त गरेका छन ।
शरणार्थी प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुबाट आफूले दह्रो साथ र आडभरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको उनले बताएका छन ।
भेटको क्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय नेताहरूले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दैगृहमन्त्री श्रेष्ठ बधाई दिएका थिए ।