प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई भने–सरकारमा आउनुस्, भ्रष्टाचारका फाइल खोल्न तयार छु

काठमाण्डु टुडे २०८० वैशाख १८ गते ११:३५ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन ।

चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन आग्रह गरेका छन ।

लामिछानेलाई जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु ।’

यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थनसमेत फिर्ता लिने बताएका थिए ।

उनले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताएका छन ।

उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत दाबी गरेका छन । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us