पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा मेरो फरक मत होइनः बास्कोटा

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १७:५५ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– सत्ता घटक दल एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको दाबी गरेका छन ।

आज (बुधबार) प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए ।

उनले भने, ‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने, यो प्रतिवेदनको विषयमा मेहनत भएको छ, ‘तर त्यसको केही चिजहरूमा मेरो अलिकति पुगेन भन्ने छ ।

हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन ।’ विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताउँदै उनले छानबिन हुनुपर्ने पनि उनले बताएका छन ।

उनले भने, ‘यो विषयमा छानबिन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्यूले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नुभएको थियो ।

यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अर्थात् यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us