
काठमाण्डू, ५ जेठ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार मुद्धामा बालकोट र बुढानीलकण्ठलाई पनि नछाड्ने भएपछि रातारात सरकार ढालिएको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानका सिलसिलामा जाजरकोटमा सोमबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचार प्रकरणमा कारबाही हुने बुझेपछि बालकोट (केपी ओली) र (बूढानीलकण्ठ) शेरबहादुरले मध्यरातमा हात मिलाएको बताए ।
उनले आफू नेतृत्वको सरकार नढालिएको भए केही दिनभित्रै कांग्रेस र एमालेका शीर्ष नेताहरू भ्रष्टाचार केसमा पक्राउ गर्ने तयारी रहेको खुलासा गरे ।
काँग्रेस र एमालेका केही शीर्ष नेताहरुलाई कारबाहीको दायरामा ल्याउने तयारी अघि बढेका बेला एकाएक सरकार ढालिएको उनको भनाइ थियो ।
‘हामीले आरोप मात्रै लगाएका थिएनौं । हाम्रो सरकार नबदलेको भए केही दिनभित्र हामी नै गिरफ्तार हुन्थ्यौं भ्रष्टाचारको केसमा । माओवादीले गर्नेवाला थियो भनेर कांग्रेस र एमालेकै नेताहरूले स्वीकारिसकेपछि हामीलाई किन षड्यन्त्र गरेर हटाइयो भन्ने तथ्य स्थापित भइसकेको छ’, उनले भने, ‘चोरको खुट्टा तान् भन्दाखेरि तानेर भ्रष्टाचारको आरोपबाट बच्न मात्रै यो सरकार बनेको हो भन्ने कुरा प्रस्ट रूपमा साबित भइसकेको छ ।’
उनले सरकार ढल्नुको कारण काँग्रेस र एमाले नेतृत्वमा रहेको डर रहेको औंल्याए ।
‘माओवादी नेतृत्वको सरकारले बालकोट र बुढानीलकण्ठलाई पनि छोड्दैन भन्ने लागेपछि नै डरले काम्दै तिनीहरूले यो षड्यन्त्र गरेको हो’, प्रचण्डले भने । फरक प्रसंगमा प्रचण्डले विगतका कमीकमजोरी सच्याएर जनताका बीचमा आएको भन्दै आफूहरूलाई सुध्रने अवसर दिन आग्रह गरे ।