१० वर्षअघि त्रिपालकाण्डमा पनि जोडिएका थिए सहसचिव भट्टराई

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १८:५६ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डूबाट पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई पटकपटक विवादमा परिरहने निजामती कर्मचारी भएको खुलेको छ ।

उनीमाथि करिब एक दशकअघि नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ माघ, २०७२ मा काठमाण्डू जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी भट्टराई लगायत ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला विपद् र त्यसपछिको मानविय संकटको बेलामा समेत बदनियत राखि त्रिपाल खरिद गरिएको आरोप लगाएको छ । हुन पनि उनले भन्सार छुटमा ल्याएको त्रिपाल महंगो मूल्यमा खरिद गरेका थिए । उनीमाथि सोझै बजारबाट त्रिपाल खरिद गरेको जिविसले त्यसको गुणस्तर परिक्षण नगरेको भेटिएको छ । पछि विशेष अदालतले सफाइ दिएपछि उनी निजामती सेवामा फर्किए । त्यहीबीचमा असार २०७७ मा उनी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा बढुवा भए ।

बढुवापछि पनि उनी आकर्षक कार्यालयहरूमा पोस्टिङ भइरहे । भट्टराई राष्ट्रिय परिचयपत्र विभागको महानिर्देशक समेत भएका थिए । राष्ट्रिय परिचयपत्र रुजु गर्ने संयन्त्रसम्बन्धी ठेक्काका क्रममा उनी विवादमा मुछिएका थिए ।

त्यसबारेमा उजुरी परेपछि मोरङका प्रमुख जिल्ला अधिकारी रहेका उनलाई गृह मन्त्रालयमा तानिएको थियो । पछि भने थप छानबिन हुन सकेन ।

उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट अध्यागमन कार्यालय पुगेका थिए । त्यहाँ कार्यरत रहँदा मानव तस्करसँग मिलेमतो गरेको उजुरीपछि अख्तियारले छानबिन थालेको थियो । त्यसको सुँइको पाएपछि उनले गृह मन्त्रालयमा नै सरुवा मागेका थिए । मंगलबार मात्रै उनको सरुवा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us