ओलीमाथिको आक्रमण संघीयताको दुष्परिणाम: केसी

काठमाण्डु टुडे २०८० वैशाख १६ गते १७:१६ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झापामा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको टिप्पणी गरेका छन ।

आज (शनिबार) एक विज्ञप्ति जारी गरी उनले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाएका छन् । केसीले भनेका छन्, ‘हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ ।

त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्‍याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो’ ।

१३ वैशाखमा झापामा ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमण गरेको थियो । कोशी प्रदेशको नामकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने बताएको छ । केसीले प्रशासनिक एकाइका रुपमा प्रदेश १ को नाम कोशी राख्नु उपयुक्त नै भएको बताएका छन ।

उनले विज्ञप्तिमा भनेका छन् , ‘हाम्रो ठहर छ, सङ्घीयताप्रति विरोधको बाबजुद प्रशासनिक एकाइको रूपमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो ।

पूर्वाञ्चल क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विरासतको आधारमा ‘कोशी’ प्रदेश उपयुक्त नाम हो भन्ने प्रष्टै छ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us