
काठमाण्डू, ७ जेठ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने अनुमान गरीएको छ ।
त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि बेरअधि मात्रै पक्राउ गरेको थियो ।
भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको सुरु गरीएको स्रोतले जानकारी दिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’ अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारिरहेको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताएनन् । आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेकोबारे यथेष्ट आधारहरू फेला परेका छन् ।
यसबारे गृह मन्त्रालयसम्म पनि सूचना पुगेको थियो । त्यसपछि एकदिन अघि मात्र उनी सरुवा भएका थिए ।