सहकार्य गरेर अघि बढ्न रास्वपालाई राजावादीको प्रस्ताव

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १७:३८ मा प्रकाशित

 काठमाण्डू, ७ जेठ– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकार्यको प्रस्ताव गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेखेर सहकार्यको प्रस्ताव राखेका हुन ।

रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गरेर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेको सुवेदीले पत्रमा उल्लेख गरेका छन ।

सुवेदीले वर्तमान व्यवस्थामा रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गरेका छन । संयोजक सुवेदीले रास्वपालाई लेखिएको पत्रमा भनिएको छ, ‘राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ ।’

चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गर्न राजसंस्थाको पक्षमा हुने आन्दोलनमा साथ दिन अनुरोध गरिएको छ । सुवेदी नेतृत्वको रहेको समितिले यसै महिनाको १५ गतेदेखि देशव्यापी आन्दोलन गर्दैछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us