
काठमाण्डू, ७ जेठ– नवलपरासीको रामग्राम नगरपालिका–१ स्थित सुनवल परासी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१ का ५० वर्षीय लवकुश चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
सुनवलबाट परासीतर्फ आउँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको साइकललाई मंगलबार राति ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिएका छन ।
साइकललाई ठक्कर दिने क्रममा मोटरसाइकल चालक सुनवल नगरपालिका–३ का ३० वर्षीय लक्ष्मण सापकोटा र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २६ वर्षीय अमृत भुजेल घाइते भएका छन् ।
सापकोटाको टाउको र नाकमा चोट लागेको र उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने सामान्य उपचारपछि भुजेलको डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।