अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०८० वैशाख १६ गते ११:२६ मा प्रकाशित

काठमाण्डु,१६ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाण्डुको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन ।

अनसन बसेको खबर पाँचौँ दिनमा थाहा पाएपछि मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले शुक्रवार साझ मुख्य सचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनसनकारीको स्वास्थ्य अवस्था एवम् माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिएका छन ।

सो क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले मन्त्रालयले अनसन बसेको जानकारी आएको आधा घण्टामै अनसन स्थलमा पुगेर रेस्पोन्स गरेको, मन्त्रालयबाटै डा. नवीन घिमिरे, डा. माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसान सामु पठाइए पनि हालसम्म सहमतिमा नआएको बताएका थिए ।

प्रचण्डले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाउनुभएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us