
narayanकाठमाण्डु, १२ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन विभिन्न षड्यन्त्र र घेराबन्दी भइरहेको बताएका छन ।
आज (मंगलबार) गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान् उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन ।
उनले पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उनले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गरेका छन ।
उनले जनतालाई भ्रममा नपरी गलत प्रवृत्तिलाई असफल पार्नुपर्ने बताएका छन ।उनले भने, ‘नेपालमा राजनीतिक पार्टीले ठूलो युगान्तकारी परिवर्तनका लागि सङ्र्घष गरेका छन्, यो परिवर्तनलाई संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, अहिले त्यहीँ परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान् उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।’
उनले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्नका लागि भइरहेको प्रयत्नलाई बदनाम गर्न खोजिएको बताएका छन ।
उनले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने आवश्यकत भएको बताएका छन ।
उनले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताए । उनले विकास र समृद्धिको यात्रालाई तीव्र पार्नु अहिले आवश्यकता रहेको उल्लेख गरेका छन ।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपत्बाट हुने क्षतिलाई न्यूनीकरणका गर्न योजना निर्माण गरिरहेको बताएका छन ।