सेक्युरिटी प्रिन्टिङ खरिदमा ६९ करोड घोटाला, विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १६:५८ मा प्रकाशित

काठमाण्डु ,३ वैशाख- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका सीईओ विकल पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेषा अदालतमा मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड ८ लाख बिगो दाकी लिएको छ। आरोपीहरूले बदनियत पूर्वक मिलेमतोमा अस्वाभाविक लागत अनुमान तयार गरेको र स्वीकृत सम्झौता विपरीत ट्रान्सफर्मर र जेनेरेटर स्वीकार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

आयोगले ९ जनासँग २ अर्ब ६९ करोड ४० लाखभन्दा बढी बिगो मागवादी लिएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आरोपीहरूले सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरेको भेटिएको छ ।

अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसँगै मेकानिकलतर्फका तत्कालिन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यकारी निर्देशक पौडेलमाथि ६९ करोड, सीडीई पोखरेलमाथि ४९ करोड ४६ लाख, सहायक निर्देशक पोखरेलमाथि २० करोड, शाखा अधिकृत महर्जनमाथि ३ करोड ४४ लाख, लेखा अधिकृत बुढामाथि १९ करोड ८८ लाख, शाखा अधिकृत उपाध्यायमाथि ४० करोड भ्रष्टाचार गरेको दाबी गरेको छ ।

त्यसैगरी रोहित मान प्रधानमाथि २३ करोड ४४ लाख, भुवन महर्जनमाथि ४३ करोड ५७ लाख, मिल लाल गुरौंमाथि ८ करोड ६९ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us