
काठमाण्डू, २४ जेठ– देशका पश्चिमी र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा परिवर्तन ल्याएको छ ।
कोशी प्रदेशमा भित्रिएको मनसुनको प्रभाव अझै अन्य भूभागमा फैलिन सकेको छैन । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।
दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने भने र बाँकी स्थानमा मौसम सामान्य रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी प्रदेशका केही स्थानहरू, मधेस प्रदेश र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ । शनिबार राति मौसममा परिवर्तन आउन सक्ने मौसमविद बताउँछन् ।
कोशी प्रदेश र पहाडी क्षेत्रहरूमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्य रहन सक्ने अनुमान छ ।