निर्वाचनमा कसैको पनि बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण: विष्णु पौडेल

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते ९:५६ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

पौडेलले कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको बताएका छन । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै उनले एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने पनि बताएका छन ।

उनले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने बताएका छन । एमालेले प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपी ओलीलाई अघि सारेको र एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने उनले बताएका छन ।

उनले राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने तर नपाएको बताएका छन ।

‘हामी जनादेशको सम्मान गर्छौं, बहुमत नआए पनि एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ, एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन ,उनले भने ।

पौडेलले चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप प्रत्यारोप भन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरुआत गरेको बताएका छन ।

पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफू सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दूरी नराखी समदूरी राखेर व्यवहार गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us