काठमाण्डु, २ भदौ– वातावरणीय प्रदूषण बढाएको भन्दै काठमाण्डु महानगरपालिकाले कलंकीस्थित खसी बजार हटाउन निर्देशन दिएको छ ।
मेयर बालेन्द्र साह (बालेन) निर्देशनमा महानगरले बिहीबार एक सूचना जारी गर्दै काठमाण्डु–१४ मा पर्ने खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा हाल खसी बजार सञ्चालनमा छ । नदी प्रदूषित भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको उजुरी आएकाले खसीबजार हटाउन लागिएको सूचनामा उल्लेख छ ।
केही दिनअघि सो क्षेत्रका स्थानीयले खसी बजार हटाउन माग गर्दै महानगरमा सामूहिक निवेदन दिएका थिए । व्यवसायीलाई १५ दिनभित्र वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिइएको छ ।