बालेन लक्षित ओलीको टिप्पणीः सुकुम्बासीमाथि ज्यादती भए प्रतिकारमा उत्रन्छन्

काठमाण्डु टुडे २०८१ वैशाख २० गते १७:५३ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– एमाले अध्यक्ष केपी ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाण्डु महानगरपालिकालाई आग्रह गरेका छन् । सुकुम्वासीलाई आवास व्यवस्थापन गर्न अध्यक्ष ओलीले महानगरलाई सुझाव दिए ।

सुकुम्वासी बस्ती भत्काउने अभियान नभई व्यवस्थापन अभियान सुरू गरिनुपर्ने ओलीको भनाइ थियो । सुकुम्वासी समस्या समाधान गर्न तीनै तहका सरकारले जोड दिनुपर्ने उनले बताए । ‘सुकुम्वासी बस्ती हटाउने होइन त्यसको व्यवस्थापन गर्नुपर्छ,’ भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार राजधानीमा गरेको कार्यक्रममा ओलीले भने, ‘जहाँसुकै जाउ, जेसुकै गर । खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन ।’

 

सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा रहेको र त्यो पनि भत्काउन डोजर लगिने गरेको उनको भनाइ छ । ‘सुकुम्वासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छरु कर्कला फाँड्न बञ्चरो लिएर जाने ? सुकुम्वासीको समस्या समाधान गर्नुपर्‍यो,’ उनले भने, ‘डोजर देखाउने होइन सुकुम्वासीलाई । गरिबकै छाप्रा भत्काउन नलगाऔं । व्यवस्थापन गरौं ।’

नगरपालिकासँग पैसा छ भने सुकुम्वासी बस्तीको एउटा छेउमा घर बनाउन सकिने पनि उनले बताए । उनकाअनुसार उपत्यकाभित्र ४८ सय सुकुम्वासी परिवार छन् । सुकुम्वासीमाथि ज्यादती भयो भने उनीहरू प्रतिरोधमा उत्रने चेतावनी पनि उनले दिए । ‘ज्यादती सुकुम्वासीमाथि नगरौं । कहीँ हेप्ने मानिस भेटिएन अनि सुकुम्वासीलाई हेप्ने ? थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्वासीको लालाबाला तर्साएर कुन बहादुर हुन्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us