निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई प्रतिवेदन

काठमाण्डु टुडे २०८१ वैशाख २० गते १७:१४ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– निर्वाचन आयोगले उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोग पदाधिकारीले शितलनिवास पुगेर मतपरिणाम बुझाएका हुन् । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ–१ मा १५ वैशाखमा उपनिर्वाचन भएको थियो । इलाममा एमालेका सुहाङ नेम्वाङ र बझाङमा एमालेकै मदनबहादुर भण्डारी निर्वाचित भएका थिए ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले तोकेको संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सिलसिलामा सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गरेकामा धन्यवाद दिए । उपनिर्वाचनबाट प्रतिनिधि सभा र सुदूरपश्‍चिम प्रदेश सभाले पूर्णता पाएकामा राष्ट्रपतिले खुसी व्यक्त गरे ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गर्न आयोगलाई सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे ।

भयरहित वातावरणमा मतदान गर्न पाउने मतदाताको सार्वभौम अधिकारको सुनिश्‍चितताका लागि आयोग सदैव क्रियाशील रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us