चितवन, १ भदौ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभामा बिहीबार प्रस्तुत हुने भएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पुनर्विचारका लागि पेस गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुनेछ । गृहमन्त्रीले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि विधेयकमाथि संशोधनका लागि समितिमा जान सक्छ ।
तर, सरकार राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको त्यस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने मनस्थितिमा छ ।
सत्ता गठबन्धनको मंगलबारको बैठकले विधेयक जस्ताको त्यस्तै फेरि पठाउने निर्णय गरेको थियो । विधेयक भोलि नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी छ ।