काठमाण्डु, ११ असार– अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिला भएको छ ।
बिहीबार गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट आजसम्ममा आउने बताइएको थियो ।
कोइरालाको स्वास्थ्य परीक्षण रिपोर्ट पर्सी शुक्रबार आउने सम्भावना रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै कोइरालासँगै रहेका उनका निजी चिकित्सक करवीरनाथ योगीले जानकारी दिए । रिपोर्ट आएपछि मात्र कोइरालाको न्यूयोर्क बसाईको समय निश्चित हुनेछ ।
उनको अनुसार कोइरालाको भोलि बिहीबार बायोप्सी गरिंदैछ । स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिला हुने भएपछि कोइरालाले सरकारको नीति तथा कार्यक्रम असार १५ मा ल्याउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
कोइरालाको म्यानहाटन स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । नियमित परीक्षणका क्रममा फोक्सोमा सेतो दाग देखिएपछि चिकित्सकको सल्लाहमा कोइराला गत मंगबार अमेरिका गएका हुन् । कोइराला त्यहाँस्थित राष्ट्रसंघीय नेपाली नियोग प्रमुखको आवास गृहमा आराम गरेर बसेका छन् ।