वीरगञ्ज, ७ असार– वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले आफैंमाथि गोली व्रहार गरेका छन् । आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले गोली हानेका हुन् । उनको घर पोखरिया नगरपालिका वडा नम्बर–५ हो।
उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए। ‘राइफलले आफ्नो चिउँडो मुनिबाट हानेको देखिन्छ। गोली त्यहाँबाट लागेर आँखामुनिबाट निस्किएको छ,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले भने, ‘जसकारण उहाँको ज्यान जोगियो। तर, गम्भीर घाइते हुनुहुन्छ।’
गोलीको आवाज सुनेपछि घाइते भएका चौहानलाई नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचार पछि नेसनल मेडिकल कलेज वीरगञ्जमा लगिएको छ।
गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले आत्महत्याको प्रयास गरेका हुन्।