काठमाण्डु, २७ चैत– सरकारले काठमाण्डु उपत्यकाबाट बाहिरिन चाहनेहरुका लागि विभिन्न स्थानबाट सार्वजनिक बसको व्यवस्था मिलाउने भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले उपत्यकामा अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार दुई दिन घर जान दिने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयनका लागि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । काठमाण्डुको गौशाला, कोटेश्वर, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र बल्खुलगायत स्थानमा गाडी व्यवस्था मिलाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए ।
साविकको भाडामा लामो दूरीका यात्रुलाई गन्तव्यमा पु-याइने छ । सरकारले यातायात व्यवसायीलाई उपत्यकामा भएका बस तथा माइक्रोबसमा यात्रु लैजान आग्रह गरेको छ ।
निजी क्षेत्रका सवारीले मात्र नधान्ने अवस्था आए सरकारले समेत गाडी व्यवस्था गर्ने भएको छ । यस्तै त्यसरी जाने गाडीको सुरक्षाकर्मीले स्कर्टिङ गर्नेछन् ।